Sunday, July 29, 2012

 

देशको काट्टो खानेहरूको भिडियो यु–ट्युबमा

आफ्नो राष्ट्रवादी गीत टेलिभिजन च्यानलहरूले प्रसारण गर्ने आँट नगरेपछि गायक जे.पापीले यु–ट्युबको सहारा लिएका छन् । उनकै शब्द, संगीत र स्वरको यो देशको काट्टो खानेहरू बोलको गीतको भिडियोलाई सरकारी त भएनै, निजी क्षेत्रका टेलिभिजन च्यानलले समेत प्रसारण गर्ने चेष्टा गरेका छैनन् । त्यसकारण गायक पापीले आफ्नो सो गीतको भिडियो यु–ट्युबमार्फत विश्वव्यापी बनाएका छन् ।
‘मैले मेरो यो गीतको भिडियो थुप्रै टिभी च्यानललाई दिए“ । तर, कही“ पनि बजेन,’ गायक पापीले भने, ‘टिभी च्यानलले बजाउन नसकेपछि मैले चार दिनअघि मात्रै यु–ट्युबमा हालेँ। अहिलेसम्म दुई हजारले हेरिसकेका छन् ।’ गीतमा देशको वर्तमान भद्रगोल राजनीति, नेताको गैरजिम्मेवारीपन र अनुत्तरदायी प्रवृत्ति, नेपाली जनताको दुर्दशा तथा समसामयिकतामा प्रस्तुत गरिएको छ । सञ्जय पाण्डेको निर्देशनमा बनेको यो देशको काट्टो खानेहरू भिडियोमा मुलुकका विभिन्न राजनीतिक पार्टीका नेताको फाइल भिजुअल समावेश गरिएको छ । यही कारणले आफ्नो गीत टेलिभिजन च्यानलले प्रसारण गर्न आनाकानी गरेको उनी बताउँछन् ।

साढे तीन दशकअघिदेखि देश र जनताका लागि सांगीतिक अनुसन्धानमा लागेका उनका माछी मार्न जाऊँ न दाजै कालापानीमा, बाह्र बजे तोप चल्थ्यो, एउटा इतिहास बोल्थ्यो, सुत् सुत् निदाए काठमाडौं सहर, सिन्धुलीमाडी गढी दरबारलगायतका जागरणमूलक गीतहरू चर्चित छन् । यो देशको काट्टो खानेहरू पापीको तेस्रो एल्बम हो । उनी हाल राष्ट्रियता र जनजागरणले भरिएको चौथो एल्बमको तयारीमा लागेका छन् । उनले टेलिभिजनले प्रसारण नगरेमा आफ्नो गीतको भिडियो इन्टरनेटमा काट्टो खानेहरू डट जे.पापी सर्च गरी हेर्न आमनेपालीलाई अनुरोध गरेका छन् ।

No comments:

Post a Comment